सर्वोच्चको आदेश र महानगरको कानुन उल्लङ्घन गर्नुहुन्न,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसला सबैले पालना गर्नुपर्नेमा बताएका छन्।

नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि उनले यस्तो बताएका हुन्। ‘हामी नीति बाहिर जानुहुन्न,’ शाक्यले भने, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न। जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ।’

उनले कोभिड फ्रन्टलाइनरहरूको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेकोसमेत बताए।

‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न।’

प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए। ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु,’ शाक्यले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोललगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु। त्यसैले मेयरलाई देखाइन्छौं भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौं।’ 

२०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *