सम्बन्ध विच्छेदको कानूनी आयाम

अधिवक्ता करुणाकर मल्लिक

हाम्रो बैवाहिक जीवनमा सम्वन्ध गाँसेपछि विविध कारण बस श्रीमान श्रीमती बीचको नाता सम्वन्ध टुट्नु वा छुट्नु पर्ने अवस्था नै सम्वन्ध विच्छेद हो । सामाजिक परम्परा वा कानूनी व्यवस्था आदी जुन माध्यमबाट पनि गरेको विवाह भए तापनि विवाहको अन्त नै सम्वन्ध विच्छेद हो ।

सम्बन्ध विच्छेद गर्नुका धेरै कारणहरु हुन सक्छन् । यस घटनालाई धेरै तत्वहरुले बढवा दिई रहेको हुन्छ । आर्थिक अवस्था र सामाजिक संरचनाले सम्बन्ध विच्छेदलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

हाम्रो जस्तो पितृ प्रधान देशमा जति पनि सामाजिक परिर्वतनहरु भएको भए तापनि महिलाहरुको अवस्था अत्यन्तै नाजुक रहेको पाईन्छ । सामाजि, आर्थिक, राजनैतिक, शैक्षिक र धार्मिक लगायतका सम्पूर्ण क्रियाकलापहरुमा महिलामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुरुषको नियन्त्रणमा रहने गर्ने गर्दछन् । परम्परादेखि नै पितृप्रधान समाजलाई टेवा पुर्याँउन विकसित गरिएका मूल्य, मान्यता विचार र धारण आदिको कारण समाजले तोकिदिएको सिमित घेराभित्र महिलाले कार्य गर्ने गरेको पाईन्छ ।

शहरी क्षेत्रमा शिक्षा, संचार र आधुनिकीकरणको कारणले महिलाको चेतनामा अभिवृद्धि भएपनि ग्रामिण क्षेत्रका महिलाहरुको अवस्था भने नाजुक अवस्थामै रहेको पाईन्छ । विश्वको गरिब राष्ट्रमा पर्ने हाम्रो देश नेपालमा युवा यूवतीहरुलाई रोजगारका अवसरहरु प्रर्याप्त मात्रामा छैनन् ।

केन्द्रिकृत विकासले गर्दा गाउँ छोडी शहर पस्ने र आफ्नै देशमा पनि रोजगार नपाएको कारण यूवा यूवतीमा विदेश जाने प्रचलन दिनानुदिन बढिरहेको छ । जसको कारणबाट दम्पतिहरु लामो समयसम्म टाढा भएर रहनु पर्ने बाध्यात्मक परिस्थितीले गर्दा पनि सम्बन्ध विच्छेद प्रत्यक्ष रुपमा प्रभावित भएको छ। सम्बन्ध विच्छेद एउटा पारिवारिक विषय भए तापनि यसलाई समाज, राज्य व्यवस्था, अर्थ व्यवस्था तथा सामाजिक व्यवस्थाले प्रभाव पारेको हुन्छ ।

बैवाहिक सम्वन्धको अन्त्य हुने कार्य नै सम्वन्ध विच्छेद भएपनि महिला वा पुरुषले चाहँदैमा सोझै सम्वन्ध विच्छेद गर्न भने सक्ने अवस्था हुँदैन । यसका लागि नेपालको कानूनी व्यवस्था गरेको प्रकृया एवं शर्तहरु पुरा गरी जिल्ला अदालतमार्फत मात्र सम्वन्ध विच्छेद गर्न सकिन्छ ।

मुलुकी देवानी संहिता,२०७४ मा पति तथा पत्नीले सम्वन्ध बिच्छेद गर्न सकिने व्यवस्थाहरु गरिएको छ । मुलुकी देवानी संहिता,२०७४ ले बिभिन्न आधारहरु तोकि सो मध्ये कुनै पनि अवस्था भएपनि पति वा पत्नीले बैवाहिक सम्वन्ध बिच्छेद गर्न पाउने कानूनी बाटो खोलिदिएको देखिन्छ ।

पतिले पत्नीले मंजुरी नभएपनि सम्वन्ध बिच्छेद गर्न सक्ने आधारहरु :

१.कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मंजुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समयदेखी अलग बसेमा,

२. पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

३. पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरु कुनै ठूलो शाररीक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

४. पत्नीले अन्य पुरुषसँग यौन सम्वन्ध राखेको ठहरेमा ।

 पत्नीले पतिले मंजुरी नभएपनि सम्वन्ध बिच्छेद गर्न सक्ने आधारहरु :

१.कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मंजुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समयदेखी अलग बसेमा,

२. पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

३. पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरु कुनै ठूलो शाररीक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

४. पतिले अर्को विवाह गरेमा,

५. पतिले अन्य महिलासँग यौन सम्वन्ध राखेको ठहरेमा ।

६. पतिले पत्नीलाई जवरजस्ती करणी गरेको ठहरेमा ।

सम्वन्ध बिच्छेद हुने प्रकृया :

मुलुकी देवानी संहिता,२०७४ ले कुनै पनि विवाहित महिला वा पुरुषले सम्वन्ध विच्छेद गर्न चाहेमा कानूनले तोकेको अवस्था वा कारण भएमा मात्र सम्वन्ध बिच्छेद हुन सक्ने र कानूनले तोकेको अवस्था विद्यमान भएमा सर्वप्रथम महिला वा पुरुषले सम्वन्धीत जिल्ला अदालतमा सम्वन्ध विच्छेद गरि पाउनका लागि निवेदन दर्ता गर्नुपर्ने तथा निवेदन परेपछि अदालतबाट समेत दुवै पक्षलाई सम्वन्ध विच्छेद नगर्नका लागि सम्झाउने बुझाउने गरि मेलमिलाप गर्नका लागि एक बर्ष सम्मको अवधी प्रदान गर्ने र सो अवधी सम्ममा पनि पक्षहरु सम्वन्ध जोडने भन्दा बिच्छेद नै गर्न चाहेमा तत्पस्चात अदालतबाट सम्वन्ध बिच्छेद गरिदिने व्यवस्था रहेको छ । तर महिला र पुरुष दुवै जनाले संयूक्तरुपमा अदालत समक्ष निवेदन दिई दुवै जना सम्वन्ध विच्छेद गर्न मंजुर भएमा अदालतले भने जहिलेसुकै सम्वन्ध विच्छेद गरिदिन सक्ने विशेष ब्यवस्था समेत गरेको पाइन्छ ।

सम्वन्ध विच्छेद भन्दा पहिला अंशवण्डा गर्नपर्ने :

यदि पुरुषको कारणबाट कुनै महिलाले सम्वन्ध बिच्छेद गर्न चाहेमा निजले आफ्नो पतिसँग अंशभाग समेत माग गरेको अवस्थामा अदालतले सर्वप्रथम पतिसँग पत्नीलाई निजले पाउने अंशभाग दिलाएपछि मात्र सम्वन्ध विच्छेद हुने व्यवस्था लागू रहेको पाइन्छ । तर पत्नीले अंशभाग नमागी पतिसँग एकमुष्ठ रकम वा बार्षिक वा मासिक रकम माग गरेमा भने अदालतले समेत पतिको सम्पत्ति वा आम्दानीको आधारमा पत्नीलाई माग अनुसारको रकम भराई दिने व्यवस्था रहेको छ । त्यस्तै गरि पतिबाट अंशहक लिई सम्वन्ध विच्छेद गरेकी पत्नीको मृत्यू भएमा निजले पतिको तर्फबाट प्राप्त गरेको सम्पत्ती निजको तर्फबाट जन्मेको छोरा, छोरीले पाउने र छोरा छोरी नभएमा पूर्व पतिले पाउने तर निजको अन्य सम्पत्ती भने माइतिपट्टीका हकदारले पाउने व्यवस्था रहेको छ ।

सम्वन्ध बिच्छेदको निवेदन दिन पाउने हदम्याद :

मुलुकी देवानी संहिता,२०७४ ले कुनै पनि पति वा पत्नीले सम्वन्ध विच्छेद गर्नका लागि सम्वन्ध बिच्छेद गर्न पर्ने कारण उत्पन्न भएको मितिबाट तिन महिना भित्रमा सम्वन्धीत जिल्ला अदालतमा निवेदन लिई जानु पर्ने कानूनी व्यवस्था गरेको पाइन्छ।

सम्वन्ध विच्छेद पछि पति तथा पत्नीले बच्चा राख्न पाउने व्यवस्था :

मुलुकी देवानी संहिता,२०७४ अनुसार पति तथा पत्नीको बैवाहिक सम्वन्ध विच्छेद भएपछि निजहरुको तर्फबाट जन्मेको वालबच्चाको हकमा भने पाँच बर्ष भन्दा कमको नावालक बच्चा भएमा आमाले अर्को विवाह गरेपनि बच्चा आमासाथै राख्न पाउने, त्यस्तै गरि पाँच बर्ष भन्दा बढीको नावालक भए आमाले अर्को विवाह गरेकोमा बाहेक निजको जिम्मामा रहने तथा आमाले अर्को विवाह गरेमा वा अठाह् बर्ष भन्दा माथि उमेर पुगेमा बुवाले राख्न पाउने कानूनी व्यवस्था रहेको छ ।

विदेशमा भएको सम्वन्ध विच्छेदको नेपालमा मान्यता :

मुलुकी देवानी संहिता,२०७४ ले नेपाली नागरिकहरु बिच विदेश बसेको अवस्थामा बसोबास गरेको मुलुकको कानून बमोजिम सम्वन्ध बिच्छेद भएमा त्यस्तो सम्वन्ध बिच्छेदलाई नेपालको कानूनले समेत मान्यता दिई कार्यान्वयन हुने व्यवस्था गरेको पाइन्छ ।

अन्त्यमा, अहिलेको समाजलाई नियालेर हेर्ने हो भने प्रचलित कानूनी अवस्थाहरुलाई टेकेरै भए पनि कानूनी सहारामा सम्वन्ध विच्छेदको संख्या दृतगतिमा बढेको हामी पाउछौ । वर्तमान सम्वन्ध विच्छेदको जडलाई नियालेर हेर्ने हो भने बहुदल, प्रजातन्त्र र गणतन्त्रको उपलव्धी संगसंगै महिला र पुरुष दुवैको व्यक्तिगत स्वतन्त्रताका कारण पनि सम्वन्ध विच्छेदको मात्र बढेको हो भन्नुमा अत्युक्ति नहोला ।

सम्वन्ध विच्छेद पछिको बैवाहिक पुनः सम्वन्धलाई समाजले सहस्र नस्वीकार्नु ,बाबु आमाको वा आफन्तको इच्छामा विवाह गरी पछि पछुताउनु, अन्तरजातिय विवाहलाई अझै समाजले स्वीकार्न नसक्नु, बर्तमान अवस्थामा सामाजिक संजालको भ्रममा वास्तविकता छुपाएर नक्कली परिचयबाट हुने विवाहमा फस्नु, आधुनिक यौनजन्य चलचित्र (व्लुफिल्म) का कारण यौन हिन्सा र अप्राकृतिक यौन विकृति बढेर अनिच्छीत यौन चाहानमा पिल्सीनु पर्ने अवस्था आउनु, पुरुष प्रति महिला र महिला प्रति पुरुष आत्मनिर्भरता घटेर जानु, महिला र पुरुष दुवै जना रोजगारका निमिक्त आफनो घर भन्दा बाहिर स्वदेश वा बैदेशिक रोजगारीमा व्यस्थता हुनुको कारण पनि सम्वन्ध विच्छेदको कारक तत्व मान्न सकिन्छ ।

विवाह पछि महिला र पुरुष दुवैको अनपेच्छीत रुपमा महत्वाकांक्षा बढेर जानु, पुरुषले दाइजोको कारणबाट वा महिलाले पुरुषले कमाएर आफनो इच्छा पुर्ति गर्न नसकेको अवस्थाले वा साथीभाई इष्टमित्र र आफनो दिदी वहिनीका लोग्नेले जस्तो आफनो लोग्नेले आर्थिक हैसियत, सामाजिक हैसियत, राजनैतिक हैसियत कायम गर्न नसक्नु पनि सम्वन्ध विच्छेदको मात्रा बढेको स्वीकार्न सकिन्छ ।

newscastnepal.com बाट साभार

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *