किसान पदमा जागिर, तलब ३२ हजार

हामीले धेरै क्षेत्रमा जागिर खुलेको सुनेका छौं, कतिमा आवेदन पनि दिएका छौं। 

किसान पदमा पनि जागिर खुल्यो भन्दा हामीलाई अचम्म लाग्न सक्छ। विदेशमा सामान्य भए पनि हामीकहाँ किसान पद तोकेरै आवदेन माग्ने चलन छैन। व्यावसायिक घराना बतास फाउन्डेसनले भने हालै किसानका लागि जागिर खुलाएको छ।

कम्पनीले कास्कीको अन्नपूर्ण गाउँपालिका, भयरचौरमा दुई सय रोपनी जग्गामा कृषि फार्म सञ्चालन गर्दैछ। सोही फार्मका लागि फाउन्डेसनले दस परिवार किसानको विज्ञापन खुलाएको हो।

फार्मभित्र विभिन्न जातजाति सहितको छुट्टै समाज निर्माण गर्न विज्ञापन नै खुलाइएको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए। जसमा गन्धर्व तीन, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ/मगर, ब्राह्मण, क्षेत्री र नेवार एक/एक परिवारका लागि कोटा निर्धारण गरिएको छ।

अन्य जातजाति एक, गन्धर्व किन तीन?

संगीत आफैंमा औषधि हो। गन्धर्वहरूले सारंगी बजाउने भएकाले एक बिरामी हुँदा अर्कोले बजाउन सक्छन् भनेर तीन परिवार राखिएको उनी बताउँछन्।

फार्ममा काम गर्न जुनसुकै कुनाबाट ४५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। आवेदन दिन किसानले ९८०१९३५७१० मा भक्त कार्कीलाई फोन गर्नुपर्ने आनन्दराजले जानकारी दिए। उनका अनुसार त्यहाँ जागिर पाउन किसानी गरेको लामो अनुभव चाहिँदैन। एसएलसी पास नभएकालाई बढी प्राथमिकता दिइने छ। 

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *