देश

गुणस्तरहीन ग्याँस सिलिण्डरले असुरक्षित हुँदैछ हाम्रो भान्सा

गुणस्तरहीन ग्याँस सिलिण्डरले असुरक्षित हुँदैछ हाम्रो भान्सा
  • सोमबार, अप्रिल 11 2022
    admin

२७ चैत, काठमाडौं । सिन्धुपाल्चाकको बाह्रबिसे नगरपालिका वडा नम्बर-८ स्थित लामा टोलमा २० चैत २०७८ साँझ खाना पकाउने ग्याँस दुर्घटनामा तीन बालबालिकाको ज्यान गएको थियो ।

ग्याँस चुलोमा खाना बनाउन लाग्दा सिलिन्डर विस्फोट भएर लागेको आगोमा परी निमहादुर तामाङका १० वर्षीय छोरा इशाक, स्थानीय कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्याको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष सुरज लामाले बताए ।

‘साँझ ७ बजेतिर घरमा केटाकेटी खेलिरहेका रहेछन्, आमा खाना बनाउने भन्दै भान्सामा छिरेको र केही बेरमै एउटा सिलिण्डरमा आगो लाग्यो,’ वडा अध्यक्ष लामाले भने, ‘आमा कसरी हो बाहिर निस्कनु भयो, त्यहीबेला सिलिन्डर पडि्कयो र केटाकेटीको घटनास्थलमै ज्यान गयो ।’ वडाध्यक्ष लामाका अनुसार केहीबेर अघिसम्म टिभी हेरेर बसेका बालकालिकाको दुर्घटनापछि करिव २५ प्रतिशत मात्रै शरीरको भाग भेटिएको थियो ।

भान्सामा सल्किएको आगोबाट बालबालिका बचाउन घरभित्र छिरेका इशाकका बुबा निमबहादुर पनि घाइते भएको वडाध्यक्ष लामाले बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी दक्षबहादुर बस्नेतका अनुसार विस्फोटको बेला बालबालिका टीभी हेरेर बसिरहेका थिए ।

दुई वर्षको बीचमा नगरपालिकाभित्र यो दोस्रो ग्याँस दुर्घटना थियो । यसअघि वडा नम्बर दुईको नयाँ बस्तीमा पनि ग्याँस दुर्घटनाकै कारण मासु पसलमा आगलागी भएको वडाध्यक्ष लामा बताउँछन् ।

गत साताको यो दुर्घटना लगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी र स्थानीय जनप्रतिनिधि घटनास्थल पुगेका थिए ।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको दुई कोठाको कच्ची घर ग्याँस विस्फोटबाट ध्वस्त भएको वडाध्यक्ष लामाको भनाइ छ । ‘विस्फोट हुँदा सिलिण्डर घरको छानो छेडेर आकाशमा उडेको थियोे,’ लामाले भने ‘ग्याँस लिक भएको सिलिन्डर जस्ताको त्यस्तै छ, विस्फोट भएको अर्को सिलिन्डर टुक्राटुक्रा भएर घटनास्थलभर छरिएको छ ।’

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीकाअनुसार काभ्रेको बनेपामा रहेको उग्रचण्डी कम्पनीको ग्याँस सिलिण्डर विस्फोट भएको हो । ‘रेगुलेटरभन्दा तल्लो भागबाट चुहिएको ग्याँसका कारण आगो लागेको र सिलिण्डर विस्फोट भएको पाइयो’, ती अधिकारीले भने ।

ग्याँस सिलिण्डर दुर्घटनाका स्थान र अवस्थाको प्रकृति हेर्दा मुलुकका सबै भूभाग र क्षेत्रका उपभोक्ताहरू यस्तो घटनाबाट पीडित भएको देखिन्छ । सहज उपलब्धताका कारण खाना पकाउने ग्याँसको प्रयोग विस्तार हुँदै गएको छ । तर यसको प्रयोगमा हुने असावधानी र विक्रेताको हेलचेक्र्याइँले उपभोक्ताहरु माथि जोखिम पनि बढदो छ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सुरज लामाका अनुसार, पछिल्ला केही वर्षदेखि गाउँ गाउँमा ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । काठमाडौं र बनेपामा भरिने ग्याँस सिलिण्डरहरु असुरक्षित तरिकाबाट ढुवानी गरेर गाउँगाउँमा पुग्ने र त्यससम्बन्धी सुरक्षाका बारेमा चासो र चेतना नहुँदा दुर्घटना भएको अनुमान गर्छन्, उनी ।

सिन्धुपाल्चोकमा भएको ग्याँस दुर्घटनाको सम्पूर्ण दोष ग्याँस उत्पादक कम्पनी र बिक्रेताको भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । वडाध्यक्ष सुरज लामाका अनुसार काठमाडौंबाट ट्र्रकमा बाह्रबिसे बजार आउने ग्याँस त्यहाँबाट बस, जिप तथा स्थानीय माल सामान ढुवानीका ट्रकमा राखेर गाउँ गाउँमा पुर्‍याइन्छ ।

‘काठमाडौंको ग्याँस बाह्रबिसेमा झारेर, ठोकेर, लडाएर बोकेर गाउँ गाउँमा पुर्‍याइन्छ,’ वडाध्यक्ष लामा भन्छन् ‘त्यसरी ढुवानी गर्दा ग्याँसको बिर्को कमजोर भएको हुनुपर्छ । आइतबारको दुर्घटनाको कारण ग्याँसको बिर्को कमजोर हुनु नै हो । उग्रचण्डीका बाह्रबिसेको डिलरबाट त्यो ग्याँस खरिद भएको थियो ।’

लामा टोलको ग्याँस विस्फोटको घटना यसअघिका दुर्घटनाभन्दा पृथक रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाह बताउँछन् ।

ग्याँस सिलिन्डर नै विस्फोट भएर टुक्राटुक्रा हुनु भनेको गम्भीर घटना हो उनले यसबारे अनुसन्धान हुनुपर्ने बताए । हामीले ग्याँस कम्पनीलाई यसबारे सोधेका थियौ तर उहाँहरुले ग्याँस सिलिण्डर नपडि्कने दाबी गर्नु भयो’ प्रहरी निरीक्षक शाहले भने ।

काभ्रेको बनेपामा रहेको यो उद्योगले लोकिप्रय नामक ग्याँस बिक्री गर्छ । उग्रचण्डी ग्याँस उद्योग त्यही उद्योग हो, जुन उद्योगमा चार वर्षअघि गुणस्तर तथा नापतौल विभागले गुणस्तर र सुरक्षाको प्रश्न उठाएर ताला लगाएको थियो ।

गुणस्तर तथा नापतौल विभागको टोलीले अनुगमनका क्रममा बनेपाका सगरमाथा ग्याँस उद्योग, उग्रचण्डी ग्याँस उद्योग र सूर्य ग्याँस उद्योगलाई तोकिएको गुणस्तर कायम नभएको भन्दै अर्को निर्देशन नआउन्जेल उद्योग बन्द गर्न पत्र काटेका थियो ।

तर, गत आइतबार भएको दुर्घटनामा आफूहरुको कत्ति पनि कमजोरी नरहेको उद्योगका सञ्चालक कृष्णभक्त श्रेष्ठले दाबी गरे ।

दुर्घटनामा परेको सिलिण्डर हाम्रो हो भन्ने सुनें, हाम्रा सर्वेयरहरु जानुभएको छ, तेस्रो पक्ष बिमाबाट पीडितलाई पैसा मिल्छ,’ श्रेष्ठले भने ‘टाटाको गाडी दुर्घटना भयो भनेर टाटाको दोष त हुन्न नि, चलाउने चालकको दोष हुन्छ । यहाँ पनि हाम्रो सिलिण्डर पडि्कयो भनेर हाम्रो दोष हुन्न, हृयान्डलिङ गर्नेको दोष हो ।’ श्रेष्ठले आफूहरुले नेपाल गुणस्तर प्रमाण चिहृन लिएर उद्योग चलाएको दाबी गरे ।

कुनैबेला सहरमा मात्रै उपलब्ध हुने खाना पकाउने ग्याँस पछिल्लो समय गाउँ गाउँमा पुगेको छ । नेपाल ग्याँस उद्योग संघका अनुसार अहिले हरेक वर्ष २० प्रतिशत ग्याँसको खपतमा वृद्धि भएरहेको छ । ग्याँसको प्रयोग र खपत बढेको तुलनामा यसको सुरक्षामा सबै निकाय लाचार हुँदा ग्याँसका कारण हुने क्षति बढ्दो छ ।

हुन पनि उत्पादनमा सुरक्षा, ढुवानीमा सावधानी र प्रयोगमा सचेतनाबारे ध्यान दिनुपर्ने निकायहरु लाचार बन्दा ग्याँस सिलिन्डर भान्सामा राखिएका बम जस्तै भएका छन् । आज निमहादुर तामाङको सन्तान र घर उजिड्याएको ग्याँस सिलिण्डरले भोलि जो कसैको घर र परिवार उजाड बनाउने पक्का छ ।

शृंखलाबद्ध ग्याँस दुर्घटना

तीन वर्षअघि ११ चैत २०७५ मा सिन्धुपाल्चोककै माथिल्लो चाकु जलविद्युत् आयोजनामा यस्तै प्रकृतिको ग्याँस दुर्घटना भएको थियो । आयोजनाको स्टोरमा भएको ग्याँस सिलिण्डर पडि्कँदा चार जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सो विस्फोटमा परी मृत्यु भएका श्रमिकको शव टुक्राटुक्रा भएको थियो र शव पहिचान गर्न २ दिन लागेको थियो ।

चैत ११ गते बेलुकी ६ बजेतिर भान्सा कोठाको सिलिन्डर पडि्कँदा जलविद्युत् आयोजनामा कार्यरत हुम्ला घर भएका सन्डुप लामा र दोलखा घर भएका भाइकाजी शेर्पा, हेटौंडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठले ज्यान गुमाएका थिए । विस्फोटबाट मजदुर बस्ने जस्ताको टहरो ध्वस्त भएको थियो भने दुई जना मृतकको शव पहिचान कपालबाट गर्नुपरेको थियो ।

१९ कात्तिक २०७८ मा ललिपुर मंगलबजारस्थित चक्रबहिलमा ग्याँस विस्फोट भएर भीषण आगलाली भयो । तिहारको लक्ष्मीपूजाको दिन भएको आगलागीमा चार जनाले ज्यान गुमाए । एकै परिवारका ६५ वर्षका लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रत्ना ताम्राकार र एक बालकको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

२०७८ पुसमा झापाको मेचीनगर नगरपालिका ८ मा यस्तै अर्को ग्याँस दुर्घटना भएको थियो । ग्याँसबाट सुरु भएको आगलागीका कारण स्थानीय शारदा राजवंशीको मृत्यु भयो भने अरु ८ जना घाइते भएका थिए ।

२ माघ २०७५ मा काठमाडौंको पिस नेपाल हृयान्डिक्राफ्टमा ग्याँस सिलिन्डर विस्फोट भएको थियो । सिसाको कामहुने कारखानामा भएको सो दुर्घटनामा ३३ वर्षीय काजी तामाङको मृत्य भएको थियो । दुर्घटनामा चार जना घाइते भएका थिए ।

१४ असोज २०७७ मा पनि काठमाडौं पेप्सिकोलामा ग्याँस सिलिन्डर विस्फोट भएको थियो । दुर्घटनामा ५ जना स्थानीय घाइते भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार घटनामा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का घाइते भएका थिए । घरायसी प्रयोजनको ग्याँस सिलिन्डर आगो लागेर पडि्कएको थियो ।

यस्ता अरु पनि घटना छन् । १७ वैशाख २०७७ मा काठमाडौं महानगरपालिका ३१ मा ग्याँस दुर्घटना भएको थियो । सञ्जय कार्कीको ग्याँस पसलमा भएको सिलिन्डर विस्फोटमा परी स्थानीय कविराज अधिकारीसहित ३ जना घाइते भएका थिए । त्यस्तै, २२ वैशाख २०७७ मा तनहुँको आबुखैरनीमा पनि ग्याँस विस्फोट भएको थियो । सो विस्फोटमा परी स्थानीय विनोद विकका दुई छोराहरु गम्भीर घाइते भएका थिए ।

यतिमात्रै होइन १२ जेठ २०७६ मा एकैदिन काठमाडौंमा दुई वटा ग्याँस दुर्घटनाका घटना भएका थिए । सुकेधाराको ढलाने पुल नजिकै एक सैलुनमा सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका थिए भने सोही दिन घट्टेकुलो चोकमा भएको सिलिन्डर विस्फोटमा परेर अरु ६ जना घाइते भएका थिए ।

१९ असोज २०७७ मा काठमाडौ नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिन्डर विस्फोट भएको थियो । किरियापुत्री बसेको घरमा भएको सो विस्फोटमा परी ११ जना घाइते भएका थिए । त्यस्तै २२ पुस २०७७ मा काठमाडौंको तारकेश्वर नगरपालिका ८ जरफुमा पनि ग्याँस सिलिन्डर विस्फोट भएको थियो । सो विस्फोटपछि भएको आगलागीमा परेर रामचन्ऽ श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा श्रेष्ठ घाइते भएका थिए ।

यस्तै, दाङ तुलसीपुर उपमहानगरपालिकामा पनि २०७७ माघ एक मा ग्याँस सिलिन्डर विस्फोट भएको थियो । दुर्घटनामा वडा नं १७ का ३५ वर्षीय लालबहादुर वली, ३३ वर्षीया गीता वलीसहित ३ जना घाइते भएका थिए । त्यसैवर्ष दाङकै देउखुरीमा ३० चैतमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ६५ वर्षीया परशुनारायण चौधरीको निधन भएको थियो ।

ग्याँस उत्पादन गर्ने कम्पनीमै आगलागी भएका घटना पनि छन् । २४ पुस २०७७ मा काभ्रेको बनेपा नगरपालिका १३ भैसेपाटी ग्याँस उद्योगमा नै दुर्घटना भएको थियो । स्थानीय गौरीशंकर ग्याँस उद्योग (हिमाल) को भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याङ्की चुहिएर भएको विस्फोटमा तीन जना कामदार घाइते भएका थिए ।

कम्पनीमा काम गरिरहेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा बनेपा- १३ का ५५ वर्षीय लोकबहादुर खड्का, बनेपा- १३ कै ७० वर्षीय साइला भुजेल र सोही स्थानाका अर्का ४२ वर्षका कुमार भुजेल घाइते भएका थिए ।

अन्तर्राष्ट्रिय मेडिकल जर्नल ‘बायो मेड सेन्ट्रल’ मा प्रकाशित आगलागीका दुर्घटनाबारे सञ्जीव त्रिपाठी र सुरेन्द्रजंग बस्नेतको ‘इपिडिमियोलोजी अफ बर्न इन्जुरी अफ नेपाल’ नामक एक शोधका अनुसार विश्वमा वाषिर्क २ लाख ६५ हजार मानिस आगोले जलेका कारण मृत्युवरण गर्छन् । जसको आधा हिस्सा दक्षिण र पूर्वी एसियाको मानिसले ओगट्छन् ।

यस क्षेत्रका गरिब र निम्न आय भएका मानिसहरु आगोका कारण हुने दुर्घटनामा पर्ने गरेको र त्यसमा नेपाल पनि पर्छ । शोधअनुसार नेपालमा वार्षिक  झण्डै ५५ हजार मानिस आगोका कारण हुने दुर्घटनामा पर्छन्, त्यसमध्ये २१ सयको ज्यान नै जान्छ । यो तथ्याङ्क २००८ सम्मको हो । शोधकर्ता बस्नेत र त्रिपाठीका अनुसार यो त्यस बेलाको अनुमानित तथ्याङ्क हो ।

शोध अनुसार घरलाई सुरक्षित ठाउँ मानिने भएपनि आगोले धेरैजसोलाई घरभित्रै चोटपटक लागेको छ । घरमा पनि धेरै भान्सा कोठामा यस्ता घटना हुने गरेका छन् । खाना पकाउन खुला आगोको प्रयोग, सारी जस्ता खुकुलो कपडा लगाएर भन्सामा बस्नु र नियमन नभएकोे एलपीजीको प्रयोगका कारण नेपालीहरु आगोको जलनको उच्च जोखिममा छन् ।

ग्याँसको गुणस्तरबारे अनुगमन गर्ने नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नाप तौल विभाग नै सरकारी कम्पनीबाहेकका ग्याँसको गुणस्तरमा आशंका व्यक्त गर्छन् । नेपाल आयल निगमका गुणस्तर तथा अनुगमन विभाग प्रमुख करुणा क्षेत्री कोभिडका कारण ग्याँसको अनुगमन र गुणस्तर परीक्षण प्रभावित भएको बताउँछिन्

आगोको जलनका कारण हुने दुर्घटनाबारे कुनै अभिलेख नराख्ने सरकारी नियामकका कारण नेपालमा आगोको जलन र यसबाट बच्न लिइने नीति बनाउन कठिन अवस्था रहेको पनि शोधमा उल्लेख छ । त्रिपाठी र बस्नेतेले १५ वर्ष अगाडि आफनो शोधपत्रमा भने जस्तै अहिले पनि नेपालमा ग्याँस दुर्घटनाबारे सरकारसँग कुनै अभिलेख छैन । यतिसम्म कि १९ कात्तिक २०७८ मा ललिपुर मंगलबजारमा भएको ग्याँस विस्फोट कुन कम्पनीको सिलिन्डर थियो भन्ने पनि सरकारी निकायसँग विवरण छैन । जबकि सो विस्फोटपछिको आगलागीमा परेर चार जनाले ज्यान गुमाएका थिए ।

बढ्दो खपत, प्रयोगमा असावधानी र विक्रेताको हेलचेक्र्याइँ

ग्याँस सिलिण्डर दुर्घटनाका स्थान र अवस्थाको प्रकृति हेर्दा मुलुकका सबै भूभाग र क्षेत्रका उपभोक्ताहरू यस्तो घटनाबाट पीडित भएको देखिन्छ । सहज उपलब्धताका कारण खाना पकाउने ग्याँसको प्रयोग विस्तार हुँदै गएको छ । तर यसको प्रयोगमा हुने असावधानी र विक्रेताको हेलचेक्र्याइँले उपभोक्ताहरु माथि जोखिम पनि बढदो छ । त्यसमा पनि यो अति प्रज्वलनशील पदार्थ भएको हुनाले सुरक्षा सावधानीमा आवश्यक चेतना विस्तार गर्न सकिएन भने आगामी दिनमा अझ ठूलो क्षतिको सम्भावना देखिन्छ ।

दैनिक डेढ लाख सिलिन्डर अति प्रज्वलनशील पदार्थ उपभोग हुने बजारमा यसबाट हुने क्षतिको विवरण भने कतै पनि अभिलेखमा छैन । नेपालमा खाना पकाउने ग्याँसका कारण कुन वर्ष कति दुर्घटना भयो भन्ने विवरण यसको बिक्री, वितरण र गुणस्तर हेर्ने कुनै निकायहरुसँग छैन । दुर्घटनालाई अभिलेखमै नराखेपछि सुरक्षा र गुणस्तर हेर्नुपर्ने सरकारी निकाय र यसको व्यापार गर्ने व्यापारी दुवैलाई ‘पानी माथि ओभानो’ हुन सजिलो भइरहेको छ ।

नेपाल ग्याँस उद्योग संघका अुनसार झण्ढै पाँच दर्जन कम्पनीबाट बजारमा पठाइएका एक करोड ५० लाख सिलिन्डर अहिले प्रयोगमा छन् । ग्याँस उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार त्यसमध्ये दैनिक एक लाख ५० हजार सिलिन्डरसम्म ग्याँस अहिले प्रयोगमा छन् । जसको मासिक औषत् खपत ४० लाखभन्दा माथि हुने उनले बताए । तर, तीमध्ये कति सिलिन्डर ग्याँस दुर्घटनामा परे, त्यसका कारण कति उपभोक्ताको मृत्यु भयो ? कति अंगभङ्ग भए भन्ने विवरण संघसंग छैन ।

निजी क्षेत्रलाई ग्याँस बिक्रीको अनुमति दिने र त्यसको गुणस्तर र अनुगमन गर्नुपर्ने जिम्मेवारी बोकेको नेपाल आयल निगमले समेत आफूसँग कुनै त्यस्तो तथ्याङ्क नरहेको बतायो ।

निगमका गुणस्तर तथा अनुगमन विभाग प्रमुख करुणा क्षेत्रीले ग्याँस दुर्घटनाको कुनै विवरण निगमसँग नभएको हाकाहाकी बताइन् । ‘ग्याँसको गुणस्तरमा समस्या छ, हामीले पनि २ वर्षदेखि कोभिडका कारण अनुगमन गर्न सकेका छैनौं,’ क्षेत्रीले भनिन् । नेपाल प्रहरीको अभिलेखमा पनि ग्याँसकै कारण भएको दुर्घटनाको विवरण उल्लेख छैन ।

२०७८ मंसिर १५ देखि पुस १५ भित्र एक महिनामा नेपाल आयाल निगमले भारतीय आयल कर्पोरेसनबाट ४९ हजार ८०४ मेटि्रकटन खाना पकाउने ग्याँस आयात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ८ हजार ९९५ मेटि्रकटनले धेरै हो भने अघिल्लो महिनाको तुलनामा ४ हजार १५५ मेटि्रकटनले बढी भएको निगमले जनाएको छ ।

सिलिन्डरमा हिसाब गर्दा सो महिनाको आयात एक महिनामा ३५ लाख ७ हजार १९७ सिलिन्डर भएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । ‘यो आयात गतवर्ष भन्दा ६ लाख ३३ हजार ४२७ सिलिन्डरले बढी हो’ उपाध्यायले भने ‘मासिक औषत् ४४ हजार मेटि्रक टन हाराहारीमा हुने आयात डिसेम्बरमा आएर आकासिएको हो ।’ यसअघि औषत मासिक २९ लाख सिलिन्डर हाराहारी ग्याँसको खपत हुने गरेकोमा पुषदेखि यता कुल वाषिर्क खपतमा पनि अघिल्लो वर्षंको तुलनामा ७३ हजार ४५१ मेटि्रकटन थप ग्याँस आयात भएको निगमले जनाएको छ ।

सन् २०२० मा कुल चार लाख ४३ हजार १८७ मेटि्रकटन खाना पकाउने ग्याँस आयात भएकोमा सन् २०२१ मा कुल ५ लाख १६ हजार ६३८ मेट्रिकटन ग्याँस आयात भएको पाइएको थियो । शहरी क्षेत्रमा विद्युतीय चुलोको प्रयोग बढे पनि ग्रामीण क्षेत्रमा ग्याँसको खपत बढ्दै गएको उद्योगी गोकुल भण्डारी बताउँछन् । नेपालमा हरेक वर्ष औसत २० प्रतिशतले ग्याँसको खपतमा वृद्धि रहेको उनको अनुमान छ ।

पछिल्लो समय ग्रामीण क्षेत्रको ग्राहकका लागि ग्याँस बिक्री गर्ने उद्योगहरुको प्रतिफल पनि बढ्दै गएको उनले बताए । नेपालमा कुल घर संख्याको २८ प्रतिशतले मात्रै ग्याँस प्रयोग गर्ने गरेको र यो दायरा अझै फराकिले हुँदै जाने भण्डारीले बताए ।

ग्याँसको गुणस्तरबारे अनुगमन गर्ने नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नाप तौल विभाग नै सरकारी कम्पनीबाहेकका ग्याँसको गुणस्तरमा आशंका व्यक्त गर्छन् । नेपाल आयल निगमका गुणस्तर तथा अनुगमन विभाग प्रमुख करुणा क्षेत्री कोभिडका कारण ग्याँसको अनुगमन र गुणस्तर परीक्षण प्रभावित भएको बताउँछिन् । ‘बजार अनुगमन भएकै छैनभन्दा हुन्छ, ग्याँसको सुरक्षा र गुणस्तरमा धेरै प्रश्नहरु बाँकी छन्,’ क्षेत्रीले भनिन् । उत्पादन, बिक्री, ढुवानीका सबै प्रक्रियामा ग्याँसमा सावधानी कम भएको भन्दलै उनले आफूहरुले जनचेतनाका लागि काम गरिरहेको दाबी गरिन् ।

यता नेपाल गुणस्तर तथा नाप तौल विभागले पनि सिलिण्डरको गुणस्तर परीक्षणमा चाहिने जति सरकारी उपस्थिति हुन नसकेको स्वीकारेको छ । विभागकी प्रवक्ता ज्योति जोशी भट्टले उद्योगबाटै गुणस्तरीय उत्पादन बजारमा पठाउन परीक्षण गर्नेबाहेक बजारमा नियमन हुन नसकेको बताइन् ।

‘नेपाल गुणस्तर मापदण्डअनुसार हामीले उद्योगमा नियमन गरेका छौं, तर ग्याँस कसरी ढुवानी हुन्छ ? कसरी भण्डारण हुन्छ र उपभोक्तासम्म कसरी पुग्छ भन्ने नियमनको दायरा बाहिर छ’, भट्ट भन्छिन् ‘ग्याँसबाट हुने क्षतिको सुरक्षाबारे सरकारले छुट्टै निकाय बनाउनु जरुरी छ ।’

यो पनि पढ्नुहोस

‘ग्याँस सिलिन्डर विस्फोटका दोषी उद्योगी होइनन्’

यो पनि पढ्नुहोस

‘एउटा सिलिन्डरले क्षणभरमै हाम्रो खुसी लुटिदियो’

 



प्रतिक्रिया दिनुहोस्