खेल

इटहरी : थारूलाई आफ्नै भूमि बिरानो

इटहरी : थारूलाई आफ्नै भूमि बिरानो
  • सोमबार, अप्रिल 11 2022
    admin

२८ चैत, इटहरी । इटहरी उपमहानगरपालिका–८, सुनसरीका रघु चौधरीका हजुरबुवा आफ्ना पालाका भूमिपति थिए । ‘तीन सय बिगाहा बढी त जमिन थियो । त्यही जमिनको उपजले घरपरिवार मस्तसँग चल्थ्यो’, पुर्खौली पृष्ठभूमिबारे रघु भन्छन् ।

तर तीन पुस्ता पार नहुँदै यो परिवारसँग अहिले जम्मा पुग नपुग एक बिगाहा जमिन छ । ‘यो भूमि (इटहरी) नै थारुहरुको हो नि ! त्यतिबेला कति जमिन थियो भन्ने कुरै नगरौं’ इटहरी–१८ का तेजनारायण चौधरी भन्छन्, ‘मेरै हजुरबुवा पनि भूमिपति हुनुहन्थ्यो ।’

तेजनारायण चौधरी ।

हजुरबुवा इशरलालले ‘हाम्रो’ भनेर चिनाएको जमिन आँखाले हेरेर भ्याउन मुस्किल पर्ने तेजनारायण सुनाउँछन् । तर अहिले तेजनारायण र रघुका निम्ति आ–आफ्ना हजुरबुवाको स्वामित्वमा रहेको जमिन सम्झना मात्रै हो । ‘इटहरी भन्नु त थारुहरुका लागि चोक न हो । तर अहिले त्यही चोकले हाम्रो पूरा इतिहास छायामा पारिदियो’ तेजनारायण भन्छन्, ‘इटहरीबारे निर्णय हुँदा देशको नेतृत्वले पनि थारू सम्झदैन ।’

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पनि इटहरीको बजार क्षेत्र नै आधार मानेर निर्णय हुने गरेको उनको दुखेसो छ । बाहिरबाट आएकाहरूको पेलानमा परेकै आक्रोश अहिलेका मेयर द्वारिकलाल चौधरीको अभिव्यक्तिमा पनि प्रकट हुने गरेको स्थानीयहरू बताउँछन् ।

चोक मात्रै हो इटहरी !

पूर्वी नेपाललाई सडक मार्ग भएर देश जोड्ने इटहरी आज जुन रफ्तारमा बस्तीले भरिँदैछ, त्यो भन्दा ताजा, तर लामो इतिहास थारु समुदायसँग जोडिएको छ । औलो उन्मुलन अघिसम्म यो भूमिमा थारू समुदायको एक्लौटी ‘राज’ थियो ।

थारु समुदायको साम्राज्य कसरी चल्थ्यो भन्ने वृतान्त यहाँका पाका पुस्ताले फर्ररै भन्न सक्छन् । ‘जंगली जनावरसँग जोगिएर बसाएको बस्तीलाई नरसिंह सुब्बा थारुले शासन गर्नु हुन्थ्यो रे ! नरसिंहको मातहतमा अन्य स–साना प्रशासनिक संरचना थियो’, थारु अभियान्ता तेजनारायण चौधरी भन्छन् ।

इटहरी बजार ।

त्यसबेला थारु समुदायको सर्वोच्च प्रशासनिक नेतालाई मौजावाल भनिन्थ्यो । ‘इटहरी, दुहबी, खनार, पकली, झोक्राहा समेतको मौजावाल नरसिंह सुब्बा थारु थिए’, इतिहासमा इटहरी पुस्तकमा हिमाल दाहालले लेखेका छन् ।

तर नेपाल एकीकरणसँगै मौजावालको शासन चल्न छाड्यो । राजधानी केन्द्रित देशको शासन थारू समुदायले पनि मान्ने थाले ।

जंगबहादुर राणाले १९१० सालको मुलुकी ऐनमार्फत् थारुलाई ‘मासिने’ जातमा राखिदिए । त्यसपछि त यो समुदायमाथि हेलोहेचो हुन थाल्यो, प्रशासनिक क्षेत्रमा बेकामे बने । अभिछिन्न पुस्तौनी बाहुबलबाट आर्जेको थारुको जमिन राणा शासकहरुले भाइ–भारदार र कर्मचारीलाई बकसमा दिन थाले । विशेषतः जमिनको स्वामित्व सैनिक र कर्मचारीमा सर्न थाल्यो ।

१९९३ र २०२१ सालको नापीसम्म आइपुग्दा भने थारुहरु आफैंलाई आफ्नै भूमि भारी भयो । ‘पालपोत तिर्न नसकेपछि जमिन अरुलाई नै दिन थाले । बिस्तारै नवप्रवेशी बढ्न थाले’, इतिहासमा इटहरी पुस्तकमा पत्रकार दाहालले लेखेका छन् । औलो थेग्न नसक्ने पहाडे मूललाई आफ्नो संस्कृतिमा सम्मान गर्ने थारु समुदायसँग २०१८ सालपछि छिमेकी भएरै नवप्रवेशी आइपुगे ।

महेश्वर सुब्बाको घर ।

ताप्लेजुङबाट झरेका महेश्वर सुब्बा सिंगो समुदायमै परिचित र नौलो थिए । सुब्बाले इटहरी चोकमा २०२० सालमा बनाएको चार तले घर थारुहरुको भन्दा भिन्न भएकाले पनि धेरैलाई सम्झन र चिनाउन सजिलो थियो । ‘त्यसबेला सबै खेती हुने जग्गा थियो । सडक भएर गाइवस्तु हिड्थे’ इटहरी–८ का शेखर चौधरी भन्छन्, ‘बाटो छेउमा भएको खेतिपाती गाईवस्तुले खाइदिने भएकाले पनि चोकतिरको जमिन बेच्ने काम धेरै भयो ।’

नगद आउने क्षेत्रबाट बञ्चित हुने परिस्थितिले पनि थारु समुदायले चोकतिरको जग्गा सस्तोमा बिक्री गर्ने गरेको कवि एवम् यहाँका स्थानीय मनु मञ्जिल बताउँछन् ।

कवि मनु मञ्जिल ।

‘उनीहरु (थारु समुदाय) छेउ लाग्दै गए । पहाडका मानिसले पैसा ल्याउने र जग्गा खरिद गर्ने गरे,’ मञ्जिल भन्छन्, ‘पहाडमा लाहुरेहरु पनि हुने भएकाले पैसा हुने भयोे ।’ भिन्नै साम्राज्यका मालिक रहेका थारु समुदाय इटहरीको बजार क्षेत्रबाट बिस्तारै किनारा लाग्नुको पछाडि भने राजनीतिक निर्णय कारण थियो ।

मुलुकी ऐन, भूमि सुधार हुँदै पञ्चायतले पनि किनारामा धकेल्दै लगेको थारुलाई माओवादीको सशस्त्र विद्रोहकालमा झनै जोडले धकेल्यो । ‘मुख्य गरी देशमा द्वन्द्व भएको बेला पहाडी समुदायसहित तराई/मधेसकै मान्छेहरु यहाँ आए । यसैगरी जमिन खरीद–बिक्री भयो’, मञ्जिल भन्छन् ।पूर्व–पश्चिम राजमार्गलाई विराटनगर–धरान सडक खण्डले चिरेर चोक बनाएको इटहरी बजार क्षेत्र भने थारु समुदायलाई विस्तारै बिरानो हुँदै गयो ।

अरुण वत्ती चौधरी ।

उपमहानगरपालिको तथ्यांक अनुसार, इटहरीमा प्रत्येक वर्ष २५ सयबढी घर थपिने गरेको छ । त्यसमध्ये रैथाने थारुहरुले बनाएको घर संख्या नगण्य छ । २०७८ को जनगणनाको प्रारम्भिक नतिजाले भने इटहरीको जनसंख्या २ लाख नजिक देखाएको छ ।

गुमेको छैन सम्मान

अहिले पनि इटहरीमा अलिक पहिले आएकाहरुले थारुलाई सम्मानको व्यवहार गर्छन् । नवप्रवेशी र राजनीतिक निर्णयप्रति अटेरी गर्ने इटहरीमा थारु समुदायको आह्वान पालना हुन्छ ।

‘थारुहरुले बन्द गर्न चाहे बन्द हुन्छ । यहाँका मानिसहरुको उनीहरुप्रति सिम्प्याथी छ’ मञ्जिल भन्छन्, ‘यो उनीहरुप्रतिको सम्मान हो ।’ विश्वासकै कारण यस्तो मनोविज्ञान निर्माण भएको उनको बुझाइ छ ।

थारु समाज र संस्कृति भुलेर इटहरीको इतिहास अपूर्ण हुने नवप्रवेशीहरुले बुझेका छन् । हुन पनि यहाँको भूगोल, सभ्यता र संस्कृति अहिले पनि थारु समुदायबाट अलग छैन ।

इटहरीकै नामाकरण पनि थारु इतिहाससँग जोडिएको छ । ‘यो तुरुङ हो’लाई थारु भाषामा ‘इटा हरी छि’ भनिन्छ । त्यसैबाट इटहरीको नाम रहेको थारु संस्कृतिका जानकार रघु चौधरी बताउँछन् । ‘अपराध गर्नेहरुलाई तुरुङमा खुट्टा छिराएर सजाय दिने प्रचलन रहेछ । त्यसैबाट इटहरी नाम रहन गएछ’, चौधरी भन्छन् ।

रघु चौधरी ।

तर तीव्र शहरीकरणले थारु समुदाय किनारातिर धकेलिँदैछन् । ‘हामी आउँदा पनि यहाँ सबैजसो जग्गा थारुकै थियो । तर बेच्दै गए, गाउँतिर सर्दै गए’, २०६० सालमा सोलुखुम्बुबाट इटहरी–१८ मा आएका दीपक भारती भन्छन्, ‘थारु जातिले बसाएको बस्तीमा बाहिरिया आएर भूमिसँगै आफ्नो परम्परा र संस्कृतिमा हमला भयो भन्ने उहाँहरुमा लागेको होला ।’

कतिसम्म भने थारु समुदायलाई आफ्नो संस्कृतिको प्रतीक ‘ग्रामथान’ जोगाउन आफ्नै आदिम भूमिमा मुस्किल छ । इटहरीको चोक छेऊमै ग्रामथान छ । तर बस्तीको घेराबन्दीले ग्रामथानको आकर्षण गुम्दो छ । ग्रामथान थारु समुदायको जन्मदेखि मृत्युसम्म जोडिएको सांस्कृतिक प्रतीक हो ।

इटहरी चोक छेउमा रहेको  ग्रामथान

अर्को ठूलो चिन्ता हो, बढ्दो बजारसँगै थारु समुदायकै नयाँ पुस्तामा पनि ग्रामथानप्रतिको मोह घट्दो छ । त्यसप्रति स्थानीय सरकारको समेत उचित ध्यान नगएको उनीहरुको बुझाइ छ ।

‘इटहरी उपमहानगरपालिकाले थारुको पाठ्यक्रमसमेत बनाएको छैन । पाठ्यक्रम नै नभएपछि थारु भाषाको कक्षा सुरु गर्न सकेनौं’ इटहरी–१४ स्थित पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद चौधरी भन्छन् । जबकी यो विद्यालयमा शिक्षक र विद्यार्थीको ठूलो संख्या थारु हुन् ।

प्रभा चौधरी ।

बजारले जमिन र ग्रामथान मात्रै संकटमा धकेलेको छैन, घरघरको संस्कृति पनि जोखिममा छ । ‘नयाँ घरहरुमा मोखा राख्न छोडियो । ढोकाको दुईतिर राखिने मोखाले थारुको घर भनेर चिनाउँछ’, इटहरी–१४ की प्रभा चौधरी भन्छिन् ।

उस्तै आशंका

हरेक राजनीतिक परिवर्तनले खुम्च्याउने काम मात्रै गरेको अनुभूति संगालेको थारु समुदाय लोकतान्त्रिक गणतन्त्रप्रति समेत विश्वस्त देखिन्न ।

२०७२ को संविधानले बहुदलीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गरेको छ । यो प्रणालीमा दलीय निर्णय प्रधान हुन्छ । तर दलहरुले थारु समुदायलाई पत्याउँदैन भन्ने बुझाइ उनीहरुमा छ । ‘राजनीतिक चेतना थारुमा कम छ, टिकट पाए जित्ने थारुहरुले नै हो । तर टिकट नै थारुलाई दिँदैन’, तेजनारायण चौधरी भन्छन् ।

 
इटहरी ।

२०७४ को चुनावमा द्वारिकलाल चौधरीले मेयर जित्नुमा पनि थारु मत नै कारण रहेको उनी बताउँछन् । २० मध्ये १२ वडामा नेपाली कांग्रेसले जिते पनि नेकपा एमालेबाट चुनाव लडेका द्वारिकले मेयर जितेका थिए । १२ वडाध्यक्ष पनि थारु समुदायबाटै निर्वाचित भए ।

साविकको हाँसपोसा, खनार, पकली र एकम्बा गाविस थपिएर इटहरी उपमहानगर बनेकाले पनि थारु समुदाय अहिलेसम्म निर्णायक छ । १५ वर्ष अगाडिसम्म प्रष्ट बहुमतमा रहेको थारुको जनसंख्या अहिले ३५ प्रतिशत हाराहारीमा खुम्चिएको छ, तर त्यहाँका रैथाने अन्य समुदायको पनि विश्वास भएकाले थारु उम्मेद्‍वार नै बलियो हुने देखिन्छ ।

तर सार्वजनिक रुपमै द्वारिकले पार्टी नेतृत्वको आलोचना गरेकाले उनी फेरि दोहोरिनेमा शंका छ । त्यस्तो अवस्थामा हालका उपमेयर लक्ष्मी गौतम, सुनसरी एमाले अध्यक्ष रेवती भण्डारी, नगर अध्यक्ष यामकुमार सुब्बालगायत मध्येबाट एकले मेयरको टिकट पाउने सम्भावना छ ।

द्वारिकलाल चौधरी ।

एमालेलाई टक्कर दिने पार्टी कांग्रेस हो, इटहरीमा । यसपटक इटहरीको नेतृत्व लिन कांग्रेस उपमहानगरका सभापति हेमकर्ण पौडेलसहित रोहित प्रसाईँ, भीमबहादुर पौडेललगायतको दाबी छ । पौडेल यसअघि पनि मेयरका प्रत्यासी थिए । टिकट नपाएपछि पौडेलले चर्को असन्तुष्टि जनाएका थिए । स्थानीय नेताहरुका अनुसार, यीमध्ये जसले टिकट पाए पनि कांग्रेससँग मेयरका लागि थारु उम्मेद्‍वार हुने छैन ।

एमालेबाट अलग भएर गएको २ भदौमा बनेको नेकपा एकीकृत समाजवादीले इटहरीमा भाग पाएमा केशवकुमार बिष्टले टिकट पाउने लगभग पक्का रहेको नेताहरु बताउँछन् । विष्ट राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्य सचिवसमेत हुन् ।

कांग्रेसका नेताहरु भने एकीकृत समाजवादीको संगठन बलियो नभएकाले नगरको नेतृत्व दिन नसक्ने बताउँछन् ।

इटहरीमा माओवादी केन्द्र पनि कमजोर छ । २०७४ को निर्वाचनमा एमालेका चौधरीले २२ हजार ६८९ मत ल्याएर मेयर जित्दा कांग्रेसका प्रसाईँले १९ हजार ९८५, राप्रपाका रोहितकुमार कार्कीले ३ हजार ७१५, माओवादी केन्द्रकी हरिमाया जिमीले ३ हजार ३६४ र फोरम लोकतान्त्रिकका अरुण चौधरीले १ हजार ४३७ मत ल्याएका थिए । फोरम लोकतान्त्रिक अहिले कांग्रेसमा विलय भइसकेको छ ।

स्थलगत १ – नेतालाई चुनावको चिन्ता, मतदातालाई गुजाराकै पीर !

स्थलगत २ – भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

स्थलगत ३- नेताहरुले आशा देखाए, भरोसा दिएनन्

स्थलगत ४ – रातो कागज !

स्थलगत ५ – सुकुम्बासीको सन्देश : मत दिन तयार छौं, मन बुझिदिनुहोस्

स्थलगत ६ – धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प

स्थलगत ७ – देशकै गरिब स्थानीय तहमा गरिबी देखाएर भोट माग्छन् नेता

स्थलगत ८ – धरानमा पानी सधैंको चुनावी एजेण्डा, समस्या उस्तै

स्थलगत ९ – नेपालगञ्जको राजनीति : जो पनि केन्द्रकै मुख ताक्ने

स्थलगत १० – तथ्यको तराजुमा विकासको ‘भरतपुर मोडल’

स्थलगत ११ – हेटौंडा उपमहानगर : एमाले विश्वस्त, गठबन्धन आशावादी

स्थलगत १२ – धरानमा धर्मराएको वाम बिरासत

स्थलगत १३ – मेचीपारिको गाउँ : नेताले भोट देखे

स्थलगत १४ – पहिले लालपूर्जा देऊ, अनि मात्र भोट

स्थलगत १५ –संघीयताले फेरेको नरैनापुर

स्थलगत १६ – दलहरूले समेत बेवास्ता गरेको गैरीगाउँ



प्रतिक्रिया दिनुहोस्