अर्थ व्यवसाय

२५ वर्षीय युवाले सुरु गरेको 'टालो' ब्रान्ड, जसले गर्छ मासिक ३० लाखको व्यापार

२५ वर्षीय युवाले सुरु गरेको 'टालो' ब्रान्ड, जसले गर्छ मासिक ३० लाखको व्यापार
  • बुधबार, अप्रिल 20 2022
    admin

काठमाडौं। काठमाडौंका निखिल सापकोटा १४ वर्षको उमेरदेखि नै विभिन्न अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूका लागि फ्रीलान्सिङ गर्थे। सन् २०१७ को सुरुवाततिर कामको सिलसिलामा सिंगापुर गएका थिए। त्यहाँ उनको आँखालाई सडकमा गुडिरहेका चम्किला गाडीहरूले तान्यो। नेपालमा धुलामैला गाडीहरू देखिरहेका निखिल जुन हेर्‍यो त्यही टलक्कका गाडीहरू देखेर छक्क परे। टल्किने सबै गाडी नयाँ भने थिएनन्। पुराना गाडीहरू पनि कसरी शोरुममा राखेको जस्तै टलक्क टल्केको होला भनेर उनी सोचमग्न भए।

सिंगापुर भ्रमणबीच उनको फेसबुकमा गाडीहरूको लागि विशेष केमिकलले कोटिङको विज्ञापन आयो। निखिल सम्झन्छन् 'त्यहाँबाट मैले गाडीहरूलाई विशेष केमिकलले कोटिङ गर्ने थाहा पाएँ। यसको बारेमा अझै बुझ्दै जाँदा मैले गाडीमा कोटिङ गरिसकेपछि धुलोहरू हत्तपत्त नटाँसिने, गाडीको साइन पनि राम्रो आउने र अटो डिटेलिङको छुट्टै मार्केट हुन्छ भन्ने पनि थाहा पाएँ।'

घर फर्किएर यहाँको बजारमा यो प्रविधि छ कि छैन भनेर रिसर्च गर्दा कतै नदेखेपछि निखिललाई यो कोटिङ प्रविधि नेपालमा पनि ल्याउन पाए हुन्थ्यो भन्ने सोच आयो। फर्किएको केही महिनामै आफ्नो सोचलाई उनले व्यवसायमा परिणत गरे र 'मोटर्स नेपाल’ सुरू गरे।

कोटिङ प्रविधि भित्र्याउँदै व्यवसाय

नेपाल फर्के लगत्तै निखिल अटो डिटेलिङ र कोटिङको नेपालमा सम्भावनाको बारेमा मार्केट रिसर्चहरू गर्न थाले। 'त्यो बेला नेपालमा रबिङ भन्ने बाहेक अरु कुनै कन्सेप्ट नै थिएन। हामीले यसको कस्टिङहरू पनि बुझ्दै जाँदा यो अलिकति महँगो नै पर्ने थाहा पाइयो,' निखिल भन्छन्, 'यहाँको मार्केट बुझ्दै जाँदा गाडीहरू पेन्ट गर्न कै लागि रु २०/२५ हजार पर्दो रैछ र कोटिङ गर्न रु ४० देखि ५० हजारसम्म लाग्ने।' बजार बुझेपछि उनले बिजनेसको नयाँ आइडिया ल्याए। 'नेपालको मार्केटमा यो चल्छ कि चल्दैन भन्ने अन्योलकै बीच हामीले सानो तहमा सुरुवात गर्‍यौं,' उनले भने। निखिलले २५ हजार खर्चेर कोटिङ केमिकलको एउटा स्याम्पल मगाए। दुई-तीन जना ग्राहकको घरमा उनी आफैंले गएर कोटिङ पनि गरिदिए। राम्रो प्रतिक्रिया पाए। निखिलका अनुसार उनले अलिकति बाँकी भएको कोटिङ आफ्नो गाडीमा पनि लगाए। पानी हाल्दा पनि पानी मज्जाले तर्कियो। यसले झन् उनमा उत्साह थप्यो। त्यसपछि उनले कुपण्डोलमा तीनवटा सटर भाडामा लिएर सन् २०१७ को नोभेम्बरमा मोटर्स नेपालको सुरुवात गरे।

 

 

आफ्नै कम्पनी सुरु गर्नु अघि इन्फर्मेसन म्यानेजमेन्टमा स्नातक गरेका उनले सिंगापुर गएर अटो डिटेलिङ र कोटिङको तालिम पनि लिएका थिए। उनले आफ्ना तीन कर्मचारीलाई पनि आफूले सिकेको ठाउँबाट प्रशिक्षक बोलाएर तालिम दिलाए। निखिलले मोटर्स नेपाल सुरु गर्दा नेपालमा अटो डिटेलिङको बारेमा निकै कमलाई मात्रै थाहा थियो। 'यहाँ त अटो डिटेलिङको नाममा रबिङ गर्ने र पेन्ट गर्नेलाई मात्रै बुझ्ने गरिन्थ्यो। पेन्ट गर्नुभन्दा कोटिङ महँगो पर्ने हुँदा धेरैलाई यो चित्त पनि बुझ्दैनथ्यो। कोटिङको महत्त्वको बारेमा बुझाउन निकै गाह्रो पर्‍यो,' निखिल भन्छन्।

लाखौंका सवारी साधन बाटोमा प्राय: धुलाम्मै अवस्थामा देखिरहेका हुन्छौं। सवारीसाधनहरू कोतारियो अथवा रङ खुइलियो भने प्राविधिकहरु सामान्य रङ लगाइदिएर टार्छन्। रङ टिकाउ हुँदैन। रङ उडेर जान नदिन कोटिङ नै गर्नुपर्छ। यसरी नै उनले आफ्नो ग्राहकहरूलाई विस्तारै बुझाउदै व्यवसाय अगाडि बढाए। सुरुवात गर्दा महिनामा १०-१२ वटा गाडीको कोटिङ गर्ने मोटर्स नेपालले अहिले ६० भन्दा बढीको डाइमण्ड कोटिङ गर्छ। गाडी साथसाथै मोटर्स नेपालले दुईपांग्रे मोटरसाइकलको पनि कोटिङ गर्छ, जसको मूल्य साढे १२ हजारदेखि साढे ७६ हजारसम्म पर्छ। यस बाहेक मोटर्स नेपालले अटो डिटेलिङ र कोटिङको ट्रेनिङ पनि दिने गरेको छ। 'अहिले नेपालमा कोटिङको अझ डाइमण्ड कोटिङको नाममा थुप्रै मालप्राक्टिसहरू भइरहेको छ। यसले गर्दा ग्राहकहरूको कोटिङप्रतिको धारणा नै नराम्रो हुँदै गएको छ,' निखिल बताउँछन्।

 

गाडी पुछ्न आफ्नै ‘टालो’

मोटर्स नेपालले थुप्रै सवारी साधनहरूमा कोटिङ गर्‍यो र केही समयमा नै निकै राम्रो व्यवसाय गर्दै थियो। त्यसैबीच उनीहरुले एउटा अर्को समस्या पत्ता लगाए।

'गाडीहरूलाई जति टल्काएर पठाए पनि पछि पुरानो नै अवस्थामा हुने गरेको मैले पाएँ। किन यस्तो हुँदो रैछ भनेर बुझ्दै जाँदा हामीले कोटिङ गरेर नयाँ जस्तै बनाएको गाडीहरूलाई पुछन पुराना, झुत्रा कपडा प्रयोग गर्ने थाहा पायौं। यसो गर्दा गाडी विस्तारै कोतारिँदै जाँदो रहेछ,' निखिलले सुनाए।

यो समस्या पत्ता लागेपछि गाडी पुछ्नकै लागि विशेष कपडा बनाउने सोच उनमा आयो। यसका लागि उपयुक्त कपडा कस्तो हुने, कसरी बनाउने, कहाँ पाइने हो भनेर रिसर्च गरे। अध्ययनका क्रममा उनले न्यानो फाइबर फ्याब्रिकको बारेमा थाहा पाए।

निखिल भन्छन्, 'यो फ्याब्रिकले पानी पनि एकदम मज्जाले सोस्ने, कोतारिँदा पनि नकोतारिने, प्रिमियम टेक्सचर हुने र धुन पनि सजिलो हुँदो रहेछ। साथसाथै यो कपडा लामो समय टिक्ने रहेछ।' उक्त कपडा दक्षिण कोरियामा एकदमै राम्रो गुणस्तरको पाइने हुँदा उनले उतैबाट आयात गर्ने निर्णय गरे।

यो करिब सात महिना अघिको कुरा हो। नेपालीले पुछ्ने कपडालाई 'टालो' भन्ने भएकाले उनले पनि आफ्नो टावल ब्रान्डको नाम ‘टालो’ नै राखे। 'हामीले टालो सुरु गर्दा हाम्रो ग्राहकहरूलाई मात्रै दिने गरी सोचेका थियौं। यसलाई बजारीकरण गर्ने हाम्रो कुनै योजना थिएन,' उनले भने।

उनले ३० लाख जति खर्च गरेर टालोको स्थापना गरे र १००० वटा पनि टावल मगाए। 'त्यो सबै हाम्रो ग्राहकहरूले नै किन्नु भयो। उहाँलेहरूको प्रतिक्रिया लिँदा हामीले के थाहा पायौं भन्दा हामीले गाडीहरूको लागि मात्रै भनेर बनाएको टालो उहाँहरूले आफ्नो घरको भान्सामा, नुहाउनको लागि बाथटावल जसरी पनि प्रयोग गर्न थाल्नु भएछ। यो कुरा हामीलाई अगाडि थाहा थिएन। पछि मैले पनि नुहाउनको लागि यसको प्रयोग गरेँ,' उनले सुनाए।

टालोको मूल्य त्यतिबेला प्रिमियमको १५ सय र फुच्चेको ७ सय ५० थियो। 'थोत्रो र पुराना कपडा च्यातेर गाडीहरू पुछ्नलाई टालो बनाउने प्रवृत्ति भएका नेपालीले यतिको खर्च गर्लान् र भन्ने अविश्वास ममा पनि थियो,' उनले भने।

 

उनको अनिश्चयलाई चिर्दै टालोको माग दिन प्रतिदिन बढ्दै गयो। मागलाई ध्यानमा राख्दै उनले मेनस्ट्रिम बजारमा पनि टालो लन्च गरे। माग बढेसँगै उत्पादन पनि बढाएका उनले टालोको मूल्य रस १३५० (प्रिमियम), ११५० (टालो म्यास) र ५५० रुपैयाँ (फुच्चे टालो) राखेका छन्।

निखिल भन्छन्, 'अहिले टालोले मासिक २५ लाखदेखि ३० लाख जतिको व्यापार गरिरहेको छ। टालो मोटर्स नेपालको पुल्चोकस्थित शोरूम, अनलाइन स्टोर र फेसबुक पेजमार्फत अर्डर लिएर बिक्री हुने गरेको छ।

२५ वर्षीय निखिल भन्छन्, 'नेपालको सबै घरहरूमा हाम्रो टालो होस् भन्ने लक्ष्य छ। टालोको घरायसी मात्रै नभएर कमर्सियल प्रयोग पनि केही हुन सक्छ कि भनेर हामी खोजी गरिरहेका छौं।'

bizmandu.com बाट साभार



प्रतिक्रिया दिनुहोस्